पारालिम्पियनलाई सम्मान
एनपिसी नेपालले शनिबार चार पारालिम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको छ। एनपिसी नेपालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारालिम्पियनलाई सम्मान गरेको एनपिसी नेपालका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी दिए।
सम्मानित हुने पारालिम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रम बहादुर राना (लन्डन/ब्राजिल), मैया विशंखे (लन्डन) र लक्ष्मी कुँवर (ब्राजिल) रहेका छन्। उनीहरूलाई एनपिसी नेपालकी अध्यक्ष राधा घलेले प्रशंसापत्र र नगद प्रदान गरी सम्मान गरिन्। बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको एकदिने प्रतियोगितामा विभिन्न २१ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको कोषाध्यक्ष सिवाकोटीले जनाएका छन्। हरेक स्पर्धामा पहिलो हुनेलाई १ हजार ५ सय, दोस्रोलाई १ हजार र तेस्रोलाई ५ सय नगद पुरस्कार प्रदान गरियो।